Join our Channel

नाडा अटो शो २०२५ भदौ ३ देखि काठमाडौंमा सुरु

नाडा अटो शो २०२५ भदौ ३ देखि काठमाडौंमा सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७औं संस्करणको नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

गो फर मोर’ नाराका साथ आयोजना हुने यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधिहरू, ग्राहक संलग्नता र सम्पूर्ण पारिस्थितिक तन्त्रलाई एकै ठाउँमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्रदर्शनीलाई नेपालका लागि दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्बको रूपमा हेरिएको छ।

यस पटकको शोमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड र ३५ वटा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण र वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहनेछ।

प्रदर्शनीमा एक लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा छ भने १२५ भन्दा बढी प्रदर्शकले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन्। करिब तीन लाख वर्गफुट क्षेत्रफल फैलिएको प्रदर्शनीस्थलमा १ लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र समेटिएको छ।

शोको मुख्य आकर्षणमा युनिट्री रोबोट्स, अत्याधुनिक चारपांग्रे रोबोटहरू र डिपलको इभीटोल युएभी (उड्ने सवारी) रहेका छन्। साथै, भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी ४०, माज्दा फेमिलिया र टोयोटा एमआर २ जस्ता ऐतिहासिक सवारीसाधन प्रदर्शन गरिनेछ।

मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्मित सवारी र अटो पार्ट्स देखाइनेछ भने अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी सहकार्य र लगानी प्रवर्द्धन गरिनेछ।

साथै, इलेक्ट्रिक भेइकल र स्मार्ट मोबिलिटी सम्बन्धी सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्, जसले नेपाली अटो उद्योगको दिगोपना र प्रविधि विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a comment