Join our Channel

यू–२० एएफसी छनोटमा साउदीलाई हराउँदै नेपालको सम्भावना कायम, उत्तर कोरियासँग निर्णायक भिडन्त

यू–२० एएफसी छनोटमा साउदीलाई हराउँदै नेपालको सम्भावना कायम, उत्तर कोरियासँग निर्णायक भिडन्त

यू–२० एएफसी एशिया कप छनोटमा साउदी अरेबियामाथि १–० को कठिन जितसँगै नेपालको थाइल्यान्ड यात्रा गर्ने सम्भावना जीवित छ।

शुक्रबार भएको खेलमा इन्ज्युरी समय सुरु हुनै लाग्दा वैकल्पिक खेलाडी सुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई तीन अंक दिलाइन्। खेलपछि प्रशिक्षक यामप्रसाद गुरुङले भने, “तीन अंकमा खुसी छौं, तर प्रदर्शनमा भने सन्तोष छैन।”

यस जितपछि नेपाल समूह चरणको दुई खेलबाट ४ अंकमा पुगेको छ। अब नेपालको अन्तिम खेल शक्तिशाली उत्तर कोरियासँग हुनेछ, जसले यसअघि भुटानलाई १०–० र साउदी अरेबियालाई १५–० ले हराइसकेको छ।

समूहमा प्रत्येक विजेता टोली सिधै यू–२० एशिया कपमा प्रवेश पाउनेछ, साथै दोस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट तीन टोली पनि छनोट हुनेछन्। यही कारणले नेपालको सम्भावना अझै कायम छ।

यस समूहमा साउदी अरेबियाले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन भने भुटान एक अंकमा सीमित छ। साउदीविरुद्धको खेलमा नेपालले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रशिक्षक गुरुङले स्वीकार गर्दै भने, “यो उमेर समूहमा साउदीविरुद्ध हाम्रो पहिलो खेल भएकाले कठिन भयो।”

उक्त खेलमा प्रशिक्षकले सुरुवाती टोलीमा पाँच परिवर्तन गरेका थिए, जसको कारण उनले उत्तर कोरियाविरुद्धको खेलका लागि तयारी र नयाँ खेलाडीलाई मौका दिनु रहेको बताए।

नेपालको उत्तर कोरियाविरुद्धको खेल अब छनोटको निर्णायक मोड हुनेछ।

Leave a comment