
लाखेजात्राको अवसरमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबलको तेस्रो संस्करण आजदेखि सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक टिम तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङ र सुनसरी इटहरीको द योङ ब्रदर्श क्लबबीच प्रतिस्पर्धा हुनेछ।
तेल्लोकले दुई विदेशी खेलाडी फोफोना र सामुइलसहित जीवन गुरुङ, सञ्जय श्रेष्ठ, रुपेश केसीलगायत ६ अनुबन्धित खेलाडी मैदानमा उतार्नेछ। बाँकी खेलाडी भने जिल्लाका स्थानीय प्रतिभा हुनेछन्। क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार यसपटकको लक्ष्य पहिलो पटक फाइनलमा प्रवेश गर्ने रहेको छ।
ब्रदर्श क्लबले पनि बलियो टिमसहित उपस्थित हुँदैछ। यसमा थ्रीस्टारका प्रवेश बस्नेत, पुलिसका शिशिर चौधरी, इटहरीका रमेश राजवंशी, योगेन कार्की, सञ्जय धिमाल, युवराज थापा र निशान थापा मगरजस्ता खेलाडी समावेश छन्। प्रशिक्षक समर्पण मगरका अनुसार उद्घाटन खेल जितेर आगामी रणनीति तय गर्ने योजना बनाइएको छ।
आइतबारको दोस्रो खेलमा सहारा क्लब पोखरा र रेडस्टार फुटबल क्लब झापा भिड्नेछन्। तेस्रो खेलमा लिजेन्ड फुटबल एकेडेमी सिलगुढी र चर्च ब्वाइज क्लब काठमाडौं प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सलहेस युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच खेल हुनेछ।
गत वर्षको उपविजेता सलहेसबाहेक अन्य सबै टिम नयाँ सहभागिता हुन्। विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोकृष्ट खेलाडीलाई यामाहाको मोटरसाइकल तथा विधागत विजेतालाई १५ हजारका दरले सम्मान गरिनेछ। म्यान अफ द म्याचले ७ हजार रुपैयाँ पाउनेछन्।
लाखेजात्राको अवसरमा आयोजना हुने यो प्रतियोगिता २०२९ सालदेखि विभिन्न नाममा हुँदै आएको छ। यसले स्थानीय खेलाडीलाई अन्तरजिल्ला स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।