
वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रुसी खेलाडी भेरोनिका जुबरेभालाई अनुबन्ध गरेको छ। आउँदो सिजनमा आउटसाइड हिटरको रूपमा खेल्ने जुबरेभा मिडल ब्लकर पोजिसनमा पनि बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा परिचित छिन्।
लुम्बिनीका अनुसार, उनले रसियाको शीर्ष लिग र विभिन्न क्लबहरूमा उत्कृष्ट प्रदर्शन गरिसकेकी छन्। बलियो ब्लकिङ, तीव्र गति र नेट नजिक निर्णायक अंक दिलाउने उनको क्षमताले टोलीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
लुम्बिनीको टोली संरचना
लुम्बिनीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडीका रूपमा रहेका छन्। अक्सनमार्फत कमला विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुशा चौधरी, रोमा महतो, जेनिशा विश्वकर्मा र रिक्जना माझीलाई समेत अनुबन्ध गरिसकिएको छ। बाँकी दुई विदेशी खेलाडीको नाम छिट्टै सार्वजनिक गरिने जनाइएको छ।
प्रतियोगिता विवरण
नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रिम्सले आयोजना गर्ने यो प्रतियोगिता भदौ २० देखि २८ सम्म पोखरामा हुने भएको छ।