
आइतबार बिहान देउखुरीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृतक मोटरसाइकल चालक प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। गम्भीर घाइते भएका थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसै दुर्घटनामा मोटरसाइकलमा सवार २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ।
दुर्घटना गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक चन्द्रौटा देखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किँदा भएको हो। दुर्घटनामा संलग्न टिपर र चालक प्रहरी नियन्त्रणमा राखिएका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।