
भृकुटीमण्डपमा सम्पन्न १७औं संस्करणको नाडा अटो शो–२०२५ ६ दिनसम्म चलेर आइतबार सकियो। यसपटक अटो शोमा १ लाख ७६ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भए, जुन गत वर्षको तुलनामा दोब्बर हो।
सबैभन्दा धेरै दर्शकको आकर्षण दीपल कम्पनीको स्टलमा रह्यो, जहाँ फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी), रोबोट र गाडीहरू प्रदर्शनमा राखिएका थिए। दुईपांग्रे तर्फ रोयल इन्फिल्ड मोटरसाइकल सबैभन्दा आकर्षक रह्यो। यी दुवै स्टललाई समापन समारोहमा सम्मान गरियो।
नाडाका अध्यक्ष करणकुमार चौधरीका अनुसार, यो अटो शो नाइमा अटो एक्स्पोपछि ९ दिनमै सम्पन्न भएको र यसले नयाँ रेकर्ड कायम गरेको बताए। उनले नेपालमा अटोमोबाइल प्रविधि र उत्पादनलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
समापन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनी कक्ष सञ्चालन गर्ने उत्पादनकर्तालाई प्रशंसापत्र प्रदान गर्दै भने, “अटोमोबाइल क्षेत्र राजस्व र उपभोक्ता जोड्ने प्रमुख क्षेत्र हो, यस्ता प्रदर्शनीहरूले उत्पादन र विश्वास बढाउँछन्।”
प्रदर्शनीमा विद्युतीय सवारीसाधन, पार्टपुर्जा, टायर, लुब्रिकेट र भिन्टेज गाडी समेत प्रदर्शित गरिएका थिए। हरेक दिन सडक सुरक्षा, मेड इन नेपाल र भविष्यको मोबिलिटी विषयमा अन्तरक्रियासमेत गरियो।