
शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा हालै सम्पन्न क्यामेरा ट्र्यापिङ गणनामा १ सय २० हिउँ चितुवा (Snow Leopard) फेला परेका छन्। निकुञ्जभित्र ९० र आसपासका राष्ट्रिय वनमा ३० चितुवा रहेको यकिन गरिएको छ।
निकुञ्ज प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार, संरक्षण क्षेत्रमा प्रति १०० वर्ग किलोमिटरमा हिउँ चितुवाको घनत्व २.२ छ। झारल, घोरल र नाउरजस्ता आहारा प्रजातिको संख्या बढेकाले हिउँ चितुवाको संख्या वृद्धि भएको बताइन्छ।
संरक्षणमा चुनौती:
डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुनबहादुर रावतका अनुसार चोरीसिकार, निगालो वनको क्षय, डढेलो र जलवायु परिवर्तनले चितुवाको वासस्थान जोखिममा पारेको छ। हिमाली क्षेत्रमा हिउँ कम पर्न थालेकाले चितुवाको प्राकृतिक वासस्थान संकटमा परेको पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले जनाए।
पर्यटनमा टेवा:
संख्यावृद्धिसँगै निकुञ्जमा पर्यटकको आकर्षण बढेको छ। यस वर्ष मात्रै झन्डै १० हजार पर्यटक निकुञ्ज भित्रिएका छन्। निकुञ्ज ३,५५५ वर्ग किलोमिटरमा फैलिएको छ र २०४० सालमा स्थापना गरिएको हो।