
देशभर मनसुनी गतिविधि सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्दै गएपछि अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएको छ।
आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा सामान्यतया बदली रहने र बाँकी भागमा आंशिक बदली हुने विभागको पूर्वानुमान छ। साथै, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
राति देशभर सामान्यतया बदली रहँदा, पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने र गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम विज्ञान महाशाखाले वर्षासँगै पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र ठूला–सानाठूला नदीनालामा पानीको सतह बढ्न सक्ने चेतावनी दिएको छ। विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन र पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।