
लगातारको वर्षाका कारण गुल्मी जिल्लामा कालीगण्डकी करिडोर र डहरे खोलामा यातायात पुनः अवरुद्ध भएको छ। बिहीबार साँझ केही समयका लागि खुलाइएको सडक शुक्रबार बिहानदेखि फेरि बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार, कालीगण्डकी गाउँपालिका–२ राक्सेमा माथिबाट खसेको पहिरो र सत्यवती गाउँपालिका–६ डहरे खोलामा पानीको बहाव बढेपछि सडक आवागमन ठप्प भएको हो।
स्थानीय बासिन्दा र यात्रुहरू लामो समयदेखि कालीगण्डकी करिडोरको बारम्बारको अवरोधका कारण समस्यामा परिरहेका छन्। विशेषगरी गरगरे, राक्से, मुल्क र कनौटा क्षेत्रमा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ। कालीगण्डकी गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा पनि करिडोरको गुल्मी खण्डमा आवतजावतमा समस्या हुँदै आएको छ।
डहरे खोला रिडी–वामी सडकखण्डमा पर्छ, जुन बुटवल–बुर्तिवाङ सडकखण्डको रुद्रवेणी–वामी खण्ड हो। यहाँ वर्षायाममा पानी पर्नासाथ कालो लेदो माटो सहितको बाढी आएर बाटो बगाउने गरेको छ। यस वर्षायाममा यो समस्या बारम्बार देखिँदै आएको छ, जसका कारण सार्वजनिक तथा निजी सवारीसाधनका यात्रुहरूलाई अत्यधिक सास्ती खेप्नुपरेको छ।
हाल सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्।