
साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३८.१० अंकले घट्दै २,७८१ बिन्दुमा झरेको छ। अघिल्ला तीन दिन नेप्सेमा क्रमशः २१, ४ र ५३ अंकको वृद्धि भए पनि बिहीबार करिब ९० प्रतिशत कम्पनीको सेयर मूल्य घटेपछि बजारमा गिरावट आएको हो।
बिहीबारको कारोबारमा २४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको घट्यो। यसैबीच, राष्ट्र बैंकले हालै जारी गरेको निर्देशनले लघुवित्त वित्तीय संस्थाहरूको सेयर लाभांश वितरणमा केही सहजता ल्याएपछि यस साता बजारमा उछाल देखिएको थियो। बुधबार मात्रै नेप्से ५३ अंकले बढेको थियो।
उक्त दिन ७८,३७९ पटकको कारोबारमा १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर किनबेच भई ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको थियो, जुन अघिल्लो दिनको ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँभन्दा बढी हो।
उपसमूहहरू मध्ये बिहीबार सामूहिक लगानी कोष र निर्जीवन बिमा कम्पनीबाहेक सबै परिसूचकमा गिरावट देखियो। विकास बैंक उपसमूह २.३८%, वित्त कम्पनी १.९७%, होटल तथा पर्यटन १.६०%, जलविद्युत् १.४४%, लगानी १.५८%, जीवन बिमा १.६५%, उत्पादन तथा प्रशोधन १.७०%, लघुवित्त १.४०%, अन्य १.७०%, व्यापार १.२६% र बैंकिङ उपसमूह ०.८७% ले घटे।
यस गिरावटसँगै कुल बजार पुँजीकरण करिब ६३ अर्ब रुपैयाँले घटेर बुधबारको ४७ खर्ब १० अर्बबाट बिहीबार ४६ खर्ब ४७ अर्बमा पुगेको नेप्सेले जनाएको छ।