Join our Channel

बिचौलियाको दबाबमा सरकार टिकेको छ : प्रचण्ड

बिचौलियाको दबाबमा सरकार टिकेको छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्तारुढ कांग्रेस–एमाले नेतृत्वको सरकारलाई दलाल र बिचौलियाको दबाबमा बनेको र त्यही डरकै कारण टिकिरहेको आरोप लगाएका छन्।

नेपाल उद्योग व्यापार महासंघद्वारा पोखरामा आयोजित ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ सम्बन्धी कार्यक्रममा बोल्दै दाहालले भने:

“कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक–धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो।”

दाहालले कांग्रेस–एमालेभित्रका इमानदार नेताले यस्तो सरकारमा नबस्नुपर्ने टिप्पणी गर्दै दलाल पुँजीवादी प्रवृत्तिले देशलाई बन्धक बनाइरहेको आरोप लगाए।

उनले माओवादी केन्द्रलाई मध्यम वर्गको प्रतिनिधि र तल्लो वर्गको उत्थानमा केन्द्रित शक्ति बताउँदै सहकारी सुधार, ऋण मिनाह र ठगलाई कारबाही गर्न शक्तिशाली प्राधिकरण बनाउने योजना अघि बढाइएको तर सरकारले रोकेको दाबी गरे।

दाहालले अझै पनि न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनागत परिवर्तन नआएको स्वीकार गर्दै, “परिवर्तनको लडाइँ अझै बाँकी छ,” भने। उनका अनुसार पछिल्लो समय माओवादी घटकबीच सहकार्य बढेको छ र जनतामा विश्वास फर्किँदैछ।

कार्यक्रममा दाङ राप्ती गाउँपालिकाका कृषक रामप्रसाद सुवेदीले आफ्नै फार्ममा उत्पादन गरिएको मालभोग केराको घरी प्रचण्डलाई उपहार दिएका थिए।

Leave a comment