
नेपालको कानुनी इतिहासमा पहिलोपटक महिला महान्यायाधिवक्ता नियुक्त भएकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार भण्डारीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो। यससँगै नेपालले पहिलो महिला महान्यायाधिवक्ताको रुपमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए। पद रिक्त भएपछि प्रधानमन्त्री कार्कीले नयाँ नियुक्ति गर्दै भण्डारीलाई जिम्मेवारी दिएकी हुन्।
जेनजी पुस्ताको आन्दोलन र नागरिक सरकार गठनको मागअनुसार बनेको अन्तरिम सरकारले ६ महिनाभित्र निर्वाचन गराउने घोषणा गरेको छ। फागुन २१ गते निर्वाचन हुने मिति तोकिएको छ।
यसबीच कानुनी क्षेत्रका विज्ञहरूले भण्डारीको नियुक्तिलाई ऐतिहासिक मात्र नभई महिला सशक्तिकरणतर्फको महत्त्वपूर्ण कदमको रुपमा स्वागत गरेका छन्।