
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा तुइन खोलानजिक गएको पहिरोका कारण अवरुद्ध भएको सडक आइतबार अपरान्ह एकतर्फी सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै यातायात आंशिक रूपमा खुलाइएको हो। शुक्रबार साँझ करिब ६ बजेदेखि पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।
तीन दिनदेखि सडक अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका थिए। एकतर्फी सञ्चालनमा आएपछि सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ। यद्यपि पूर्णरूपमा सडक सञ्चालन हुन अझ केही समय लाग्ने जनाइएको छ।