
चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूसँग बढी भाडा लिइएको गुनासो बढेपछि सरोकारवाला निकायहरूले तोकिएको भाडा दर मात्र लिन स्पष्ट निर्देशन दिएका छन्।
नुवाकोटको विदुरमा भएको अन्तरक्रियामा जिल्ला प्रशासन कार्यालय, विदुर नगरपालिका, सुरक्षा निकाय, यातायात व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको सहभागितामा भाडा व्यवस्थापनसहित सात बुँदे निर्णय गरिएको हो।
निर्णयअनुसार:
- यातायात सञ्चालकहरूले संघीय तथा बागमती प्रदेश सरकारले तोकिएको भाडादर मात्र लिनुपर्ने।
- विद्यार्थी, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई छुट लागू गरिनुपर्ने।
- टिकट काटेर मात्र यात्रु लैजानुपर्ने।
- यातायात सञ्चालनसम्बन्धी कानुन पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने।
सहायक प्रमुख जिल्ला अधिकारी (सप्रजिअ) कृष्णप्रसाद हुमागाईंका अनुसार तोकिएको निर्देशन पालना नगरे कानुनी कारबाही गरिने छ।
यस्तै, नुवाकोटका सम्पूर्ण यातायात व्यवसायीले पहिचानपत्र देखाएर विद्यार्थी, अपांगता भएका र ज्येष्ठ नागरिकलाई छुट दिनुपर्ने व्यवस्था गरिएको छ। स्थानीय स्तरमा (लोकल यातायातमा) पनि परिचयपत्रका आधारमा छुट पाउनेछन्।
विदुर नगरभित्र ५ किलोमिटर दूरीको भाडा दर २० रुपैयाँ कायम गरिएको छ। उक्त निर्णय सबै सरोकारवालाको सहमतिमा लागू गरिएको हो।