Join our Channel

प्राकृतिक फूलको प्रवर्धन गर्दै प्यूठानका पालिका, प्लास्टिक माला निषेध

प्राकृतिक फूलको प्रवर्धन गर्दै प्यूठानका पालिका, प्लास्टिक माला निषेध

तिहार नजिकिँदै गर्दा प्यूठानका स्थानीय पालिकाहरूले वातावरण संरक्षण र स्थानीय उत्पादन प्रवर्द्धनका उद्देश्यसहित प्लास्टिकजन्य फूल तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाएका छन्।

गत शुक्रबार सरुमारानी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै तिहारका लागि प्लास्टिकका फूल र मालाको बिक्री–वितरणमा रोक लगाएको हो। पालिकाले जनस्वास्थ्य र वातावरणीय प्रदूषणका कारण यस्तो निर्णय गरेको बताएको छ।

स्वर्गद्वारी नगरपालिका र गौमुखी गाउँपालिकाले पनि आफ्ना क्षेत्रभित्र प्राकृतिक फूलका माला प्रयोग गर्न सार्वजनिक अपिल गरेका छन्।

स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टराईका अनुसार, नगरकार्यपालिकाले चाडपर्व, बैठक, गोष्ठी लगायतका औपचारिक कार्यक्रमहरूमा अब प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्ने निर्णय गरेको छ।

नगरपालिकाले ‘पुष्प खेती प्रवर्द्धन कार्यक्रम’ समेत कार्यान्वयनमा ल्याएको छ। यस कार्यक्रमअन्तर्गत आर्थिक रूपमा कमजोर महिलाहरूलाई लक्षित गरी तिहार र दसैंजस्ता पर्वहरूका लागि स्थानीय स्तरमै फूलखेतीलाई प्रोत्साहन दिइँदैछ।

गौमुखी गाउँपालिकाले पनि प्लास्टिक र रबरजन्य माला प्रयोग नगर्न आग्रह गर्दै, स्थानीय रूपमा उत्पादन भएका सयपत्री फूल र तिनैबाट बनेका मालाहरू प्रयोग गर्न आह्वान गरेको छ।

गौमुखी–२ अर्खाका किसान भोवान सिंह थापाका अनुसार, पुष्पखेती अझै व्यावसायिक रूपमा नफस्टाए पनि तिहारजस्ता चाडमा माग पुरा गर्न फूलखेती गरिन्छ।
“सधैं फूलको व्यापार हुँदैन, तर तिहारमा राम्रो आम्दानी हुन्छ,” उनले भने।

यस निर्णयले स्थानीय फूल उत्पादकलाई प्रोत्साहन दिने र वातावरणमैत्री संस्कृतिको विकास गर्ने अपेक्षा पालिकाहरूले गरेका छन्।

Leave a comment