
पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज राति दुई घण्टा पूर्ण रूपमा बन्द रहने भएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ बजेबाट २ बजेसम्म सडक बन्द रहनेछ। कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण आवश्यक भएकाले सडक बन्द गरिने जानकारी दिइन्।
गत असोज १८ गते सडक भासिएपछि उक्त खण्ड हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। यसअघि विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्स्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो।
सडक प्रयोग गर्ने यात्रुहरूले यस अवधीमा वैकल्पिक मार्ग अपनाउन प्रशासनले आग्रह गरेको छ।