
हाल मौसम बिग्रँदै गएपछि मुस्ताङ जिल्ला प्रशासन कार्यालयले पर्यटक र पदयात्रीहरूलाई उच्च हिमाली पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको छ। मंगलबार जारी सूचनामार्फत प्रशासनले मुस्ताङका हिमाली क्षेत्रमा हिमपात र वर्षाको जोखिम बढेकाले यात्रा स्थगित गर्न सुझाव दिएको हो।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, मौसम पूर्वानुमान विभागले मुस्ताङ–डोल्पा, ५,८०० मिटर उचाइको याकखर्क, ५,४०० मिटर उचाइको थोरङला पास (मनाङ–मुस्ताङ), ६,००० मिटरको सरिबुङ पास (मुस्ताङ–मनाङ) र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक क्षेत्रमा भारीदेखि हल्का हिमपातको सम्भावना रहेको चेतावनी दिएको छ।
भुसालले भने, “सुरक्षाका कारण ती क्षेत्रहरूमा पदयात्रा नगर्न वा नगराउन अनुरोध गरिएको छ।”
प्रशासनले बुधबारसम्म जिल्लाका अन्य भागहरूमा पनि हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूलाई मौसम पूर्वानुमान बुझेर मात्र यात्रा गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।