
गाउँवासीको स्वास्थ्य सुविधालाई प्राथमिकता दिँदै विदुर नगरपालिकाले गाउँघर क्लिनिक सेवा सञ्चालन सुरु गरेको छ। नगरपालिकाको स्वास्थ्य शाखाअन्तर्गत भदुवारमा पहिलोपटक सञ्चालन गरिएको यस सेवाबाट स्थानीयहरूले गाउँमै स्वास्थ्य परीक्षण सुविधा पाएका छन्।
नगरपालिकाले पश्चिमी नुवाकोटको चारघरे टोलमा पुगेर स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेको हो। जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीका अनुसार, पहिलो चरणमा ३८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ, जसमा १५ जना पुरुष र २३ जना महिला रहेका छन्।
स्वास्थ्यकर्मीहरूले सामान्य स्वास्थ्य जाँचसँगै रक्तचाप (BP) र सुगर परीक्षण पनि गरेका थिए।
भण्डारीले भने, “यो सेवा गाउँका बासिन्दाको पहुँचमै स्वास्थ्य सुविधा पुर्याउने उद्देश्यले सुरु गरिएको हो। आगामी दिनमा अन्य वडाहरूमा पनि यो सेवा विस्तार गरिनेछ।”
स्थानीय बासिन्दाले नगरपालिकाको यो पहलले गाउँमै स्वास्थ्य सेवा पाउन सहज भएको बताउँदै खुशी व्यक्त गरेका छन्।