Join our Channel

लिग २ को अन्तिम खेलमा यूएईसँग पराजय, नेपालको जितविहीन शृङ्खला जारी

लिग २ को अन्तिम खेलमा यूएईसँग पराजय, नेपालको जितविहीन शृङ्खला जारी

आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको छ। यस हारसँगै नेपालले यो सिरिज जितविहीन रूपमा समाप्त गरेको छ।

दुबईको आइसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको मध्यम स्कोर तयार गरेको थियो। लक्ष्य पछ्याउँदै यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर २४३ रन बनाउँदै जित हात पार्‍यो।

यूएईका लागि मुहम्मद सहदाद र मोहम्मद वसिमबीच चौथो विकेटका लागि १४७ रनको साझेदारी निर्णायक रह्यो। सहदादले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ९६ रन जोडे। वसिमले ७६ रनको योगदान दिए।

नेपालका बलरहरू मध्ये करण केसीले ३ विकेट लिए भने नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिए।

यसअघि ब्याटिङ गर्दा नेपालको तर्फबाट भीम सार्कीले सर्वाधिक ४८ रन, कुशल मल्लले ४५ रन, र दीपेन्द्र सिंह ऐरीले ३७ रन जोडेका थिए।

नेपालका ओपनर कुशल भुर्तेल २ रनमा आउट हुँदा दोस्रो विकेटका लागि भीम सार्की र आसिफ शेखले ७४ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए। तर त्यसपछि नेपालको मिडल अर्डर फेरि ढल्यो। कप्तान रोहित पौडेल २ रनमा, र आरिफ शेख ३० रनमा आउट भए।

अन्तिम चरणमा कुशल मल्ल र सन्दीप लामिछानेबीचको ४२ रनको साझेदारीले नेपाललाई २३९ रनसम्म पुर्‍याएको थियो।

यूएईका बलरहरू मध्ये जुनैद सिद्धकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले समान २–२ विकेट, र जाहिद अलिले १ विकेट लिए।

यो हारसँगै नेपालले लिग २ सिरिजका सबै खेलमा हार बेहोरेको छ —
पहिलो खेलमा अमेरिकासँग १०६ रनले,
दोस्रो खेलमा यूएईसँग ५ विकेटले,
तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले र
अन्तिम खेलमा पुनः यूएईसँग ४ विकेटले पराजित भयो।

Leave a comment