
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका महत्वपूर्ण सरकारी संरचनाहरूको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले भने,
“सिंहदरबारभित्रका क्षतिग्रस्त भवनहरूको पुनर्निर्माण अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु हुनेछ।”
उनका अनुसार, जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब १०० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
मन्त्री खनालले आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि स्थापना गरिएको कोषमा हालसम्म ८ करोड रुपैयाँ जम्मा भएको जानकारी दिए।
बजेट पुनःसंयोजन र प्राथमिकता परियोजनाहरू
खनालका अनुसार सरकारले टुक्रा आयोजनाहरूको बजेट कटौती गरी हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, र बीपी राजमार्गजस्ता रणनीतिक आयोजनाहरूलाई प्राथमिकतामा राखेको छ।
उनले भने, “जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्दै सार्वजनिक खर्च व्यवस्थापन र खर्च कटौतीका मापदण्डहरूलाई प्रभावकारी बनाइएको छ।”
राजस्व वृद्धि र पर्यटन सुधार
अर्थमन्त्री खनालले आयकर घटे पनि समग्र राजस्वमा वृद्धि भएको बताए।
उनका अनुसार, जेनजी आन्दोलनपछि सेप्टेम्बर महिनामा पर्यटक आगमनमा केही कमी आए पनि त्यसपछि पर्यटन क्षेत्र पुनः सुधारोन्मुख भएको छ।
खनालले थपे,
“निजी क्षेत्रले भोगेको क्षतिपछि व्यवसायिक वातावरण पुनःस्थापना गर्न सरकारले अधिकतम पहल गरेको छ।”