
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज पहिलो सिजनमा प्लेअफ खेलेका दुई टिम चितवन राइनोज र कर्णाली याक्स बीच प्रतिस्पर्धा हुँदैछ।
पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले विजयी सुरुवात गरिसकेको छ।
चितवन राइनोज– युवा नेतृत्व, नयाँ रणनीति
पहिलो संस्करणमा तेस्रो स्थानमा रहेको चितवन राइनोजले यसपटक युवा कप्तान कुशल मल्ल को नेतृत्वमा मैदान उत्रिनेछ।
टिमले यस सिजनमा नेपाली र विदेशी अनुभवी खेलाडीको मिश्रण प्रस्तुत गर्दै छवि उकास्ने लक्ष्य राखेको छ।
चितवनको प्रमुख प्रशिक्षकमा पहिलो सिजनमा बलिङ प्रशिक्षक रहेका कलाम अली आएपछि टिमको रणनीतिमा नयाँपन देखिएको छ।
कुशल मल्ल, कमल सिंह ऐरी, रिजन ढकाल, देव खनालजस्ता युवा प्रतिभालाई डविड मलान, रवि बोपारा, अल्पेश रमजानी, सोहिल तान्भिरजस्ता विदेशी खेलाडीको साथले बलियो बनाउने अपेक्षा गरिएको छ।
‘Players to Watch’ – चितवन राइनोज
कुशल मल्ल: बायाँहाते आक्रमक ब्याटर, त्रिवि मैदानको उत्कृष्ट ज्ञान, मध्यक्रमबाट ठूलो सट खेल्ने क्षमता।
कमल सिंह ऐरी: अनुशासित लाइन–लेन्थका तेज बलर, घरेलु क्रिकेटमा निरन्तर प्रभाव।
सोहिल तान्भिर: पहिलो संस्करणका सर्वाधिक विकेट टेकर (१४ विकेट)।
सैफ जैब: सुदूरपश्चिमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएको अलराउन्डर, यसपटक चितवनको फरक जर्सीमा।
कर्णाली याक्स – अनुभवी सोमपालको कप्तानी, युवा जोशको संयोजन
पहिलो सिजनमा चौथो भएको कर्णाली याक्स यसपटक सोमपाल कामी को नेतृत्वमा मैदान उत्रिँदै छ।
नेपालका अनुभवी बलर सोमपालसँग गुल्सन झा, विपिन प्रसाद शर्मा, युवराज खत्रीजस्ता युवा खेलाडी रहँदा टिममा ऊर्जा र गतिशीलता देखिएको छ।
कर्णालीको रणनीतिक नेतृत्व नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल ले सम्हालेका छन्।
पहिलो सिजनमा प्लेअफसम्म पुर्याएको अनुभवी प्रशिक्षक ज्ञानेन्द्रले यसपटक अझ परिष्कृत योजना बनाएको बताइएको छ।
‘Players to Watch’ – कर्णाली याक्स
गुल्सन झा: तल्लो मध्यक्रमबाट विस्फोटक फिनिशर, टी–२०मा विशेष प्रभाव।
विपिन प्रसाद शर्मा: पहिलो सिजनको ‘Find of the Tournament’, युवा स्पिनर।
प्रियांक पञ्चाल: भारतका अनुभवी ब्याटर, रणजी स्टार, नेपालमा पहिलोपटक प्रदर्शन गर्न आउँदै।
म्याक्स ओ’डाउड: नेदरल्यान्ड्सका ८७+ T20I खेलिसकेका ब्याटर, असोसियट क्रिकेटमा उच्च छवि।
आजको खेल– रणनीतिक भिडन्त
चितवन राइनोजले युवा जोश र विदेशी अनुभवीपनमा विश्वास राखेको छ भने
कर्णाली याक्स अनुभव–रणनीति–युवा ऊर्जा को संयोजनमा रहेको छ।
दुवै टोलीका प्रशिक्षक नेपाली भएकाले आजको खेल नेपाली प्रशिक्षकबीचको रणनीतिक भिडन्त पनि बन्नेछ।