
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरा जिल्लामा ७ नयाँ मतदानस्थल थपिएका छन्। नयाँ थपसँगै अब जिल्लामा ७७ मतदानस्थल र ११२ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कहाँ–कहाँ थपिए मतदानस्थल?
जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’ अन्तर्गतका बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका तथा
प्रदेशसभा ‘ख’ अन्तर्गतका त्रिवेणी नगरपालिकामा नयाँ मतदानस्थल थपिएका हुन्।
निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा
- भगवती आधारभूत विद्यालय, रुढी
- मण्डाली माध्यमिक विद्यालय, खोलीकोट
- वडा नं. ३, जुकोट
यी स्थानहरूलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्यालय, जुकुमा नयाँ मतदानस्थल स्थापना गरिएको छ।
त्यसैगरी नयाँ मतदानस्थल थपिएका अन्य स्थानहरूः
- बूढीनन्दा नगरपालिका–३: मदनआश्रित आधारभूत विद्यालय, बड्डाला
- हिमाली गाउँपालिका–१: सुनन्दा आधारभूत विद्यालय, बाम
- हिमाली–५: कुलामष्टाजन आधारभूत विद्यालय, क्यिुरी
- हिमाली–६: खोलीकोट आधारभूत विद्यालय
बाजुरामा मतदाता सङ्ख्या ८६ हजार नाघ्यो
बाजुरा जिल्लामा हाल ८६,५५७ मतदाता छन्।
तीमध्ये १,५१६ भर्खरै मात्रै थपिएका मतदाता हुन्।
चार गाउँपालिका र पाँच नगरपालिका रहेको बाजुरा आगामी निर्वाचनका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।