
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। अब मतदान सम्पन्न नभएसम्म कुनै पनि प्रकारको चुनाव प्रचार–प्रसार गर्न पाइँदैन।
Election Commission of Nepalका अनुसार मतदानको अघिल्लो ४८ घण्टादेखि प्रचार–प्रसार निषेध अवधि लागू हुने प्रावधान छ। सहायक प्रवक्ता कुलबहादुर जिसीले मौन अवधिमा राजनीतिक दल, उम्मेदवार र सम्बन्धित व्यक्तिले कडाइका साथ आचारसंहिता पालना गर्नुपर्ने जानकारी दिएका छन्।
दलहरूले फागुन ४ गतेदेखि चुनावी अभियान सञ्चालन गर्दै आएका थिए। सोमबार राति १२ बजेसँगै औपचारिक रूपमा प्रचार–प्रसार बन्द भएको हो। आयोगका अनुसार मौन अवधि मतदातालाई स्वतन्त्र र निष्पक्ष निर्णय गर्ने अवसर दिनका लागि अनिवार्य व्यवस्था हो।
मौन अवधिमा के–के गर्न पाइँदैन?
१️ निर्वाचन प्रचार पूर्ण रोक
सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी, घरदैलो, जुलुस लगायत कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न पाइँदैन।
२️ सामाजिक सञ्जालमा कडाइ
फेसबुक, टिकटक, एक्स (ट्विटर), युट्युब, अनलाइन पोर्टल वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष–विपक्षमा कुनै पोस्ट, सेयर वा विज्ञापन गर्न नपाइने व्यवस्था छ।
३️ मत माग्न पूर्ण प्रतिबन्ध
एसएमएस, साउन्ड सिस्टम, फोन कल वा अन्य कुनै माध्यमबाट मत माग्न निषेध गरिएको छ।
४️ भोजभतेर र नगद वितरणमा सजाय
चुनाव प्रभावित पार्ने उद्देश्यले नगद वा जिन्सी वितरण गर्न पाइँदैन। उल्लंघन गरे १ वर्षसम्म कैद, ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
५️ मतदान केन्द्र वरिपरि शान्ति
मतदान स्थलको ३०० मिटर भित्र प्रचार सामग्री हटाउनुपर्नेछ। मतदान सुरु हुनुभन्दा ३ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म कुनै बाधा पुर्याउन पाइँदैन।
६️ सार्वजनिक भोज तथा उपहार निषेध
मतदातालाई उपहार, इनाम, दानदातव्य, बक्सिस वा भोज आयोजना गर्न पूर्ण रोक छ। मतदाताले पनि त्यस्ता सुविधा लिन पाइँदैन।
निर्वाचन तयारी अन्तिम चरणमा
आयोगले निर्वाचन व्यवस्थापन, कर्मचारी खटाउने तथा मतदान सामग्री पठाउने सबै तयारी पूरा भएको जनाएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान अधिकृतहरू आ–आफ्नो केन्द्रमा पुगिसकेका छन्।
आयोगले मौन अवधिको प्रभावकारी कार्यान्वयनका लागि आचारसंहिता अनुगमन अधिकृतहरूलाई कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ।