
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार राति २ सय १३ केजी गाँजा बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिका–१ स्थित सोनवर्षा क्षेत्रबाट गाँजा लोड गरेर भारततर्फ लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले उक्त ट्याक्टरलाई सोनवर्षाबाटै पछ्याउँदै जाँदा जगरनाथपुर गाउँपालिका–४ पुग्ने क्रममा तस्करहरूले गाँजासहितको ट्याक्टर छाडेर फरार भएका थिए।
प्रहरी निरीक्षक अधिकारीका अनुसार फरार व्यक्तिहरू सोनवर्षा गाउँका भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि उनीहरूको पहिचान भने अझै सार्वजनिक गरिएको छैन।
बरामद गरिएको गाँजा र ट्याक्टर हाल इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको नियन्त्रणमा राखिएको छ। प्रहरीले फरार रहेका ट्याक्टर चालक, धनी तथा गाँजा तस्करहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्न नियमित निगरानी तथा अपरेशन सञ्चालन गर्दै आएको बताएको छ।