Join our Channel

बुटवल–नारायणगढ सडक फेरि अवरुद्ध, दाउन्ने खण्डमा हिलो र चिप्लोपनका कारण यातायात ठप्प

बुटवल–नारायणगढ सडक फेरि अवरुद्ध, दाउन्ने खण्डमा हिलो र चिप्लोपनका कारण यातायात ठप्प

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत दाउन्ने खण्डमा हिलो र चिप्लोपनका कारण यातायात पूर्ण रूपमा ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दाउन्नेको पैसठ्ठी मोड नजिक वर्षाले सडक चिप्लिएपछि गाडीहरू फसेका छन्। “हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सक्दैनन्, उकालोमा ट्रक फसेपछि लामो जाम हुन्छ,” उनले बताए।

गत सोमबार बिहानदेखि अवरुद्ध भइरहेको दाउन्ने खण्ड केही समय खुले पनि फेरि–फेरि बन्द हुने क्रम जारी छ। आज बिहानदेखि पुनः अवरुद्ध भएपछि पूर्व–पश्चिम यातायात आवागमनमा ठूलो समस्या भएको छ।

सडक मर्मत प्रयास जारी
प्रहरीका अनुसार दाउन्ने खण्डको अवरोध हटाउन सडक मर्मत कार्य भइरहेको छ। विनयी त्रिवेणी–२ विश्वकर्मा मन्दिर नजिक सडक विस्तारका क्रममा दाउन्ने पहाड काटिएका कारण सामान्य वर्षामा पनि यहाँ हिलो र चिप्लोपनको समस्या देखिने गरेको छ।

स्थानीय चालकहरूका अनुसार वर्षायाममा यो खण्ड पार गर्न निकै जोखिमपूर्ण बन्छ। यातायात व्यवसायीहरूले वर्षायामको लागि दाउन्ने खण्डमा स्थायी समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

Leave a comment