
पूर्वी चितवनको खैरहनी नगरपालिका–१ स्थित नवोदय माविमा अध्ययनरत चेपाङ बालबालिका वैज्ञानिक उर्जा र प्रविधिमा जुटिरहेका छन्। यहाँको तेस्रो तलामा ‘सिलिपर्स टु स्याट’ नाम दिइएको भू–उपग्रह निर्माणको काम भैरहेको छ। विगत १४ महिनादेखि १५ जनाको टोलीले यो भू–उपग्रह बनाउँदै आएको छ, जसमा नौजना चेपाङ विद्यार्थीहरू समेत छन्।
अन्तरिक्ष प्रतिष्ठान नेपालका प्रोजेक्ट म्यानेजर इन्जिनियर ऋषभ अधिकारीका अनुसार भू–उपग्रह निर्माण अहिले अन्तिम चरणमा छ र दुई महिनाभित्र चीनबाट अन्तरिक्षमा पठाउने तयारी भइरहेको छ। उनले बताए, “चार चरणको काममा भू–उपग्रह निर्माण, ग्राउन्ड सेगमेन्ट र युजर सिस्टम निर्माण सकिएको छ, अहिले प्रक्षेपण मात्र बाँकी छ।”
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तर्राष्ट्रिय टेलिकम एजुकेसन युनियनबाट पनि आवश्यक अनुमति प्राप्त भइसकेको छ। भू–उपग्रहलाई चीनको रकेटबाट अन्तरिक्षमा पठाइनेछ र परीक्षणपछि मात्र प्रक्षेपण गरिने अधिकारीले बताए।
इन्जिनियर कृति दाहालका अनुसार, भू–उपग्रहमा क्यामेरा, डिजिपिटर, दिशा नियन्त्रण प्रणाली, र भूकम्प पूर्वसूचना प्रणाली जस्ता महत्वपूर्ण उपकरणहरू जडान गरिएको छ। यसले पृथ्वीमा भूकम्पको पूर्वसूचना, वातावरणीय अवस्था, बाढीपहिरोको सूचना दिने साथै फोटो खिच्ने काम गर्नेछ। यो भू–उपग्रहले ६ वर्षसम्म काम गर्नेछ र त्यसपछि वायुमण्डलमा घस्रिँदै नष्ट हुनेछ।
कक्षा ९ का विद्यार्थी रणसिंह चेपाङले भने, “१४ महिनाअघि ल्यापटप चलाउन समेत नसक्थें, अहिले भू–उपग्रह बनाउन सक्ने भएको छु। सहयोग पाए हामी अझ राम्रो काम गर्न सक्छौं।” उनीहरू दिउँसो नियमित कक्षा गर्दै बिहान र बेलुका भू–उपग्रह निर्माणमा सक्रिय छन्।
नेपालका इन्जिनियरहरूले चीन र जर्मनीमा सिकेको प्रविधि यो परियोजनामा प्रयोग भएको छ। नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले भने, “कुनै पनि विद्यालयभन्दा नवोदय मावि उपयुक्त देखिएपछि यहाँको विद्यार्थीलाई छानिएको हो। केही विद्यार्थी विश्वविद्यालय स्तरको शिक्षा पनि पाएका छन्।” दुई विद्यार्थी भने थप तालिमका लागि चीन जाने तयारीमा छन्।
यो परियोजना नेपालमा चेपाङ समुदायका बालबालिकालाई विज्ञान र प्रविधिमा समावेश गर्ने एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।