
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ लाख लिटर क्षमताको अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ। नेपाल आयल निगमले करिब ६८ करोड रूपैयाँको लागतमा यो डिपो तयार गरेको हो, जुन साउनको दोस्रो सातादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।
परियोजना प्रमुख प्रदीप यादवका अनुसार, डिपोमा १२ लाख लिटर क्षमताका तीनवटा हवाई इन्धन ट्यांकर राखिएको छ। “पोखरामा पहिलोपटक यस किसिमको ठूलो र प्रविधियुक्त डिपो निर्माण भएको हो,” यादवले बताए, “यो नेपाल आयल निगमको गौरवको विषय हो।”
डिपो निर्माण कार्य २०८० साउन पहिलो सातामा सुरु भएको थियो। नेपाली निर्माण व्यवसायीहरू र भारतीय कम्पनीको सहकार्यमा बनेको यो डिपो पूर्ण रूपमा स्वचालित प्रणालीमा आधारित छ।
गुणस्तरीय सेवा र सुरक्षा विशेषता
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार, अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिपो निर्माण गरिएको हो। “अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका लागि गुणस्तरीय इन्धन सेवा उपलब्ध गराउन यो डिपोले महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले बताए।
डिपोमा सम्भावित आगलागीको जोखीम न्यूनीकरण गर्न १२-१२ सय किलोलिटर क्षमताका दुईवटा पानी ट्यांकर, पम्प हाउस, अफिस भवन, प्रयोगशाला लगायतका संरचनाहरू निर्माण गरिएको छ।
बढ्दो हवाई चापसँगै डिपोको महत्व
पोखरामा सिजन अनुसार दैनिक १८ हजारदेखि २२ हजार लिटरसम्म हवाई इन्धनको खपत हुने गर्दछ। यसअघि, पोखराको पुरानो विमानस्थलमा जम्मा ६४ हजार लिटर मात्र भण्डारण क्षमता थियो। नयाँ डिपोको निर्माणसँगै अन्तर्राष्ट्रिय र स्वदेशी जहाजलाई समयमै इन्धन उपलब्ध गराउन सहज हुने निगमको दाबी छ।
राष्ट्रिय इन्धन डिपो सञ्जाल विस्तार
नेपाल आयल निगमले हाल काठमाडौँ, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, सुर्खेत, झापा, सिमरा, जनकपुर लगायतका विमानस्थलहरूमा इन्धन डिपो सञ्चालन गर्दै आएको छ। तर, जुम्ला, डोल्पा, ताप्लेजुङ, रारा, फाप्लु, तुम्लिङटारजस्ता दुर्गम विमानस्थलहरूमा अझै डिपो छैनन्, जसका लागि निगमले अस्थायी व्यवस्थामा इन्धन आपूर्ति गर्दै आएको छ।