
तिहार पर्व सम्पन्न भएसँगै मिथिला तथा तराई–मधेसका घरघरमा छठ पर्वको तयारी धमाधम सुरु भएको छ। श्रद्धा, निष्ठा र कठोर अनुशासनमा आधारित यो पर्वलाई सूर्य भगवान र छठी माताको आराधनाको पर्वका रूपमा मानिन्छ।
छठ पर्व विशेष गरी नेपालका तराई–मधेसका जिल्लाहरूमा धूमधामका साथ मनाइन्छ। यस पर्वमा महिलाले आफ्ना परिवारको स्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दै चार दिनसम्म कठोर व्रत गर्छन्।
छठ पर्वका चार प्रमुख दिनहरू
पहिलो दिन : नहाय खाय (चतुर्थी तिथि)
यो दिन व्रतालुहरू बिहानै नदी, पोखरी वा तलाउमा नुहाएर शुद्ध भई प्याज र लसुनबिनाको सात्विक भोजन ग्रहण गर्छन्। यसले शरीर र मनलाई शुद्ध बनाउने विश्वास गरिन्छ।
दोस्रो दिन : खरना (पञ्चमी तिथि)
यस दिन साँझ व्रतालुहरूले आँपको दाउरामा पकाइएको खीर (रसियाव) र रोटी तयार गरी छठी माताको पूजा गर्छन्। त्यसपछि व्रतालुहरू ३६ घण्टाको निराहार र निर्जल व्रतमा प्रवेश गर्छन्।
तेस्रो दिन : मुख्य पूजा — षष्ठी तिथि (सँझिया घाटे)
यस दिन व्रतालुहरू नयाँ लुगा लगाएर नदीनाला वा पोखरीमा बनेको छठघाटमा पुग्छन्। साँझ अस्ताउँदो सूर्य र छठी मातालाई बाँसको सुपलीमा सजाइएका फलफूल, प्रसाद, ठेकुवा, उखु, केरा, अदुवा, स्याउ आदि चढाएर अर्घ अर्पण गर्छन्।
यस रात “कोशी भर्ने” परम्परा पनि रहन्छ, जसमा घरको आँगनमा उखुका मुठा, माटोको कलश र हात्ती आकृतिको मूर्ति राखी पूजा गरिन्छ।
चौथो दिन : उदाउँदो सूर्यलाई अर्घ (सप्तमी तिथि)
अन्तिम दिन बिहान सूर्योदय हुनुअघि व्रतालुहरू छठघाटमा पुगेर जलाशयमा उभिएर उदाउँदो सूर्य र छठी मातालाई अर्घ अर्पण गर्छन्।
सूर्यलाई अर्घ दिएपछि महिलाहरू एकअर्कालाई सिन्दुर लगाइदिन्छन् र व्रत समाप्त हुन्छ, जसलाई ‘परना’ भनिन्छ।
छठ पर्वको महत्त्व
छठ पर्वलाई नेपाली संस्कृति र प्रकृतिको गहिरो सम्बन्ध झल्काउने पर्वका रूपमा मानिन्छ। यसमा सूर्य र जल तत्वको पूजा गरी जीवन, ऊर्जा र प्रकृतिप्रति कृतज्ञता प्रकट गरिन्छ।
मधेसका संस्कृतिविद् उमांकर द्विवेदीका अनुसार, “छठ पर्व धार्मिक अनुशासन, शुद्धता र पारिवारिक एकताको प्रतीक हो।”