Join our Channel

छठ पर्व नजिकिँदै गर्दा केराको कारोबारमा वृद्धि, मागसँगै मूल्य पनि बढ्यो

छठ पर्व नजिकिँदै गर्दा केराको कारोबारमा वृद्धि, मागसँगै मूल्य पनि बढ्यो

छठ पर्व नजिकिँदै गर्दा केराको बजार एक्कासि तातिएको छ। सूर्य उपासनाको यो पर्वमा प्रमुख प्रसादको रूपमा प्रयोग हुने केरा अहिले देशभरको बजारमा ठूलो मात्रामा बिक्री भइरहेको छ।

छठी मातालाई अर्घ दिने बेला केराको घडी अनिवार्य रूपमा अर्पण गरिने परम्परा भएकाले स्थानीय बजारहरूमा यसको माग अत्यधिक बढेको व्यापारीहरू बताउँछन्।

मधेसका बजारमा केराको व्यापार चहलपहल

सदरमुकाम जलेश्वर, बर्दिबास, गौशाला, रामगोपालपुर, औरही लगायतका मुख्य बजारहरूमा अहिले केराको खरिदमा भीड देखिएको छ। ग्रामीण हटियाहरूमा समेत व्रतालुहरू र घरपरिवारहरू केरा खरिद गर्न पुगेका छन्।

गौशालाका व्यापारी अजय कुशवाहाका अनुसार, “यस वर्ष हामीले अग्रिम रूपमा गोदाममा बाहिरबाट केरा ल्याएर राखेका छौं। माग धेरै भए पनि अभाव नहुनेछ।”

मूल्यमा वृद्धि, प्रतिघडी १ हजार रुपैयाँसम्म

औरही नगरपालिकाका घनश्याम यादवका अनुसार, गत वर्षको तुलनामा यो वर्ष केराको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अहिले बजारमा प्रतिघडी (१२ वटा) केराको मूल्य रु. ८०० देखि १,००० सम्म पुगेको छ।

व्यापारीहरूका अनुसार, माग बढ्दा भारतको सितामढी, दरभंगा लगायत क्षेत्रबाट र नेपालकै चितवन, नवलपरासी सुस्ता र कोशी प्रदेशको भण्टाबारीबाट करिब १ करोड रुपैयाँ बराबरको केरा आयात भएको छ।

छठ पर्वसँग केराको सम्बन्ध

छठ पर्वमा सूर्य भगवानलाई अर्घ दिने बेला बाँसको सुपलीमा राखिएको केरा, स्याउ, उखु, ठेकुवा, अदुवा लगायतका प्रसाद अर्पण गरिन्छ। त्यसैले केरा यो पर्वको अविभाज्य अंश मानिन्छ।

Leave a comment