
चितवनमा आज बिहान भएको स्कुटर दुर्घटनामा दुई जनाको ज्यान गएको छ। भरतपुर विमानस्थल नजिक स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आज बिहान भरतपुर–१० स्थित विमानस्थल नजिक अनियन्त्रित भई सडक किनारमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार दुवै जनाको टाउकोमा गम्भीर चोट लागेका कारण उनीहरूलाई तत्कालै उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा दुवैको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।