
धरान उपमहानगरपालिकामा गुणस्तरहीन पिउने पानी बिक्री रोक्न कडाइ गरिएको छ। सोमबार संयुक्त अनुगमन टोलीले मुख्य नाका तीनकुनेबाट भित्रने पिउने पानी र दूधजन्य पदार्थको जाँच गर्दा ८ वटा पानी उद्योगका १५६ जार नष्ट गरिएका छन्।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाका प्रतिनिधि सहभागी थिए।
कुन-कुन उद्योगका जार नष्ट भए?
- गौमुखी गङ्गा जल प्रालि, इटहरी–२: ५६ जार
- जय नेपाल जल उद्योग, तरहरा: ११ जार
- दिव्येश्वरी जल उद्योग, इटहरी: २० जार
- पारिजात जल उद्योग: २९ जार
- हलेसी एक्वा, तरहरा: ४१ जार
अधिकांश जारहरू पुराना, कुच्चिएका, फोहोर र लेबलविहीन थिए।
दूधमा मिसावट भएन, तर पानीमा समस्या
अनुगमनका क्रममा दूधमा मिसावट नभएको पाइएको छ। तर, पानीका जारहरूमा गुणस्तरीयता नपुगेकाले तत्काल नष्ट गरिएको र लेबल नभएका तर प्रयोग योग्य जारलाई लेबल लगाएर मात्र बिक्री गर्न निर्देशन दिइएको खाद्य अनुसन्धान अधिकृत प्रकृति बस्तीले जानकारी दिइन्।
उपमेयरको भनाइ
धरान उपमेयर अइन्द्रबिक्रम बेघाले यो कारवाही उद्योगी र व्यवसायीलाई दुःख दिन होइन, उपभोक्ताको स्वास्थ्य सुरक्षा र बजार अनुशासनका लागि गरिएको बताए। उनले व्यवसायीहरूलाई सरकारको मापदण्डअनुसार पिउने पानी बिक्री गर्न र यस अभियानमा साथ दिन आग्रह गरे।
उपभोक्ता गुनासोबाट सुरु भएको कडाइ
आइतबार गंगाजल पिउने पानीको सिलप्याक बोतलभित्र किरा भेटिएको गुनासोपछि उक्त उद्योगको नमुना परीक्षणका लागि संकलन गरिएको छ।