
फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी ७१ वर्षीया आमा अमृताको बुधबार बिहान ११ बजेर ४३ मिनेटमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार उनी दुई महिनादेखि निमोनियाले पीडित थिइन् र चावहिलस्थित ओम अस्पतालमा उपचार हुँदै आएको थियो।
त्यसैगरी, १५ वर्षदेखि मिर्गौलाको डायलासिस गराउँदै आएकी अमृताको अवस्था पछिल्ला दिनमा गम्भीर बनेपछि अस्पतालमै निधन भएको जनाइएको छ।
उनको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटमा हुने पारिवारिक स्रोतले जनाएको छ।
अमृताका दुई छोरी र एक छोरा छन्। छोरा निश्चल बस्नेत चर्चित नेपाली फिल्म निर्देशक हुन् भने बुहारी स्वस्तिमा खड्का नेपाली चलचित्रकी लोकप्रिय अभिनेत्री हुन्।