
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दुई लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको जनाएको छ। कात्तिक दोस्रो सातादेखि धान खरिद प्रक्रिया धनगढीबाट सुरु हुने कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए।
उनका अनुसार, धान खरिदका लागि हालसम्म १३ स्थान निर्धारण गरिसकिएको छ र आवश्यकता अनुसार थप स्थानहरू पनि समावेश गर्न सकिनेछ। धनगढीमा प्रारम्भिक कोटा ५०–६० हजार क्विन्टल निर्धारण गरिने तयारी भइरहेको छ। कोटा निर्धारण भएपछि मात्रै अन्य स्थानका खरिद मात्रा तय गरिने उनले बताए।
सरकारले यस वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य ३,६२८.३३ रुपैयाँ प्रतिक्विन्टल र मोटा धानको मूल्य ३,४६३.८१ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ।
पौडेलले भने, “अहिले हामीसँग चामल स्टक पनि छ। स्टकको अवस्था अनुसार कोटा थप्दै खरिद प्रक्रिया अघि बढाइनेछ।”
उनका अनुसार, धान उत्पादन सीमित भएकाले भारतबाट चामल आयात नगर्दा मात्र आवश्यक आपूर्ति पुग्न सक्दैन, त्यसैले आयात आवश्यक देखिन्छ। गत वर्ष भारतले चामल निर्यातमा आंशिक प्रतिबन्ध लगाएपछि, सरकारले तोकेको कोटा अनुसार धान खरिद हुन नसकेको थियो।
गत वर्ष सुरुवाती कोटा तीन लाख क्विन्टल भए पनि पछि सात लाखसम्म बढाए पनि खाद्यले मात्र १,१८,८२१ क्विन्टल धान खरिद गर्न सकेको थियो।
पौडेलका अनुसार यस वर्ष भारतबाट चामल आयात खुला हुँदा, निजी क्षेत्रका व्यापारी र खाद्यसँग पर्याप्त स्टक उपलब्ध भएको छ। किसानहरूले समर्थन मूल्यमा धान बिक्री गरे भने, तोकिएको कोटा अनुसार खरिद सुनिश्चित हुनेछ।