Join our Channel

जेनजीलाई मन्त्री पुनको अनुरोध: गुटबन्दीले देशको भलो गर्दैन, क्षति मात्र गर्छ

जेनजीलाई मन्त्री पुनको अनुरोध: गुटबन्दीले देशको भलो गर्दैन, क्षति मात्र गर्छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले हालको राजनीतिक र सामाजिक परिस्थितिमा नेपालीबीच एकताको आवश्यकता औँल्याउँदै गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिबाट देशले कहिल्यै लाभ नपाएको बताएका छन्।

सोशल मिडियामा प्रकाशित लामो सन्देशमा मन्त्री पुनले भनेका छन्, “राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन, झन् धेरै नोक्सान हुन्छ। जेन–जी पुस्तासहित सम्पूर्ण राष्ट्रप्रेमी नेपालीलाई गुटबन्दी नगर्न अनुरोध गर्दछु।”

उनले नेपालका ऐतिहासिक उदाहरणहरू उल्लेख गर्दै, प्राचीन राजशाही कालदेखि वर्तमान लोकतान्त्रिक अभ्याससम्म गुटबन्दी र आन्तरिक द्वन्द्वको परम्परा दोहोरिँदै आएको बताए।

इतिहासका प्रमुख उदाहरण

  1. राणाशासनको प्रारम्भ – नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातानले १०४ वर्षसम्म निरकुंश राणाशासनको अवस्था सिर्जना गरेको।
  2. राणा गुटबन्दी – प्रधान मन्त्री वीर शम्सेरको पालामा राणाहरूलाई वर्गीकरण गरी गुटबन्दी गरियो, जसको परिणामस्वरूप २००७ सालमा जनक्रान्तिद्वारा राणा शासन हटाइयो।
  3. प्रजातन्त्र र पञ्चायती व्यवस्था – २००७ सालमा प्रजातन्त्र घोषणा भए पनि २०१५ सालसम्म चुनाव हुन सकेन। आन्तरिक गुटबन्दीले राजा महेन्द्रलाई चुनाव टार्न अवसर दियो र पछि पञ्चायती व्यवस्था स्थापना भयो।
  4. पञ्चायती शासनको कमजोर शासन – २०१७–२०४६ सालको अवधिमा विभिन्न गुटहरूबीचको खुट्टा तानातानले व्यवस्था कमजोर बनायो।
  5. जेन–जी आन्दोलनको पृष्ठभूमि – लोकतन्त्र आएपछि राजनीतिक दलहरूबीच चरम गुटबन्दी र भ्रष्टाचारका कारण जेन–जी युवाहरूले आन्दोलन सुरु गरे, जसमा आम जनताको सहयोग रह्यो।

मन्त्री पुनले जेन–जी युवाहरूलाई देशको समृद्धि र भ्रष्टाचार निर्मूल पार्नको लागि एकताको आवश्यकता औँल्याउँदै आग्रह गरेका छन्। उनी भन्छन्, “तपाईंहरूले देशमा गुटबन्दीको इतिहास नदोहऱ्याउनु होस्, मातृभूमिको अस्तित्वको लागि एकता आवश्यक छ।”

Leave a comment