
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टीभित्र हस्ताक्षर अभियान सुरु भइरहेका बेला फागुन २१ गतेको निर्वाचनबाट नै नयाँ संसद गठन हुने बताएका छन्।
थापाले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठक र नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टीले निर्वाचनमा भाग लिने बताए।
उनले भने, “फागुन २१ गतेको निर्वाचनबाट नयाँ संसद आउँछ। संविधानलाई सही बाटोमा ल्याउने यही एकमात्र उपाय हो। यसमा कुनै भ्रम छैन।”
थापाका अनुसार, कांग्रेसले यो निर्णय पहिले नै प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठक र कार्यसम्पादन समितिमा स्पष्ट रूपमा राखिसकेको छ।
उनले निर्वाचनअघि पार्टी महाधिवेशन गर्नुपर्ने अडान दोहोर्याउँदै, “अधिवेशनबाट आउने नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउँछ,” भने।
थापाले जोड दिए, “हामी निर्वाचनमा भाग लिन्छौं मात्र होइन, यसलाई सफल पनि बनाउँछौं। यसमा कसैलाई पनि द्विविधा राख्नु हुँदैन।”
कांग्रेसभित्र दुई धार
नेपाली कांग्रेसमा अहिले महाधिवेशन र संसद पुनर्स्थापनाको विषयमा दुई धार देखिएको छ।
पार्टीले महाधिवेशन फागुन २१ को निर्वाचनअघि गर्ने कि पछि, नियमित गर्ने कि विशेष, भन्ने विषयमा अलमल छ।
उता, विघटित प्रतिनिधिसभाका कांग्रेस सांसदहरू भने पार्टीले आधिकारिक रूपमा संसद पुनर्स्थापनाको समर्थन गरेर अघि बढ्नुपर्ने पक्षमा छन्।
पूर्व प्रमुख सचेतक श्यामप्रसाद घिमिरेका अनुसार, सांसदहरूले पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्न हस्ताक्षर संकलन सुरु गरेका छन्।
उनले भने, “हाम्रो पार्टीले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनीसकेको छ, त्यसैले केन्द्रीय समितिले कानुनी र राजनीतिक रूपमा निर्णय गरेर अघि बढ्नुपर्छ।”
घिमिरेका अनुसार, यो हस्ताक्षर अदालत जानका लागि नभई पार्टीलाई बुझाउने उद्देश्यले गरिएको हो।
“यो कदम संसद पुनर्स्थापना उपयुक्त हो भन्ने सन्देश दिनका लागि हो,” उनले स्पष्ट पारे।