
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जीवनमा आउने दुःख र सङ्घर्षको बाबजुद पनि खुसी हुन सक्नु नै जीवनका अधिकांश समय सुखमय बनाउन सक्ने धारणा व्यक्त गरेका छन्।
आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्चारग्राममा आयोजना गरेको ‘संवाद र सञ्चारमा स्वजागरण: सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रममा मन्त्री खरेलले दुःखमा समेत खुसी हुनसक्नु जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताए। उनले भने,
“दुःख जीवनभर रहन्छ, तर सुख क्षणभरको हुन्छ। त्यसैले दुःखमा समेत खुसी हुनसक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। मनमा शान्ति र खुसी हुनु नै जीवनको वास्तविक सुख हो।”
मन्त्री खरेलले जीवनका कठिनाइ र चुनौतीलाई नकारात्मक दृष्टिले नभइ आत्मसन्तुष्टि र सकारात्मक सोचसहित स्वीकार गर्न सके मानसिक शान्ति दीर्घकालीन रूपमा कायम रहने विश्वास व्यक्त गरे। उनले आफू लामो समयसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रहेर मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै पुराना साथीहरूसँगको सम्बन्ध घटेको र कामको चापका कारण तनाव बढेको बताए।
कार्यक्रममा जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले वर्तमान समयमा नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याप्रति चिन्ता व्यक्त गर्दै भने,
“खुसी कुनै बाहिरी तत्व होइन, यो हाम्रो मनभित्र लुकेको छ। आफू भित्रको खुसीलाई कसरी उजागर गर्ने भन्ने कुरा बुझ्न आवश्यक छ।”
शर्माका अनुसार जीवन विज्ञान अभ्यासले व्यक्तिलाई आत्मअनुभूति, ध्यान र आत्मचिन्तनतर्फ प्रेरित गर्छ, जसले मानसिक सन्तुलन कायम गर्न र आत्महत्या घटाउन महत्वपूर्ण भूमिका खेल्छ।
प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीले जीवनको सबैभन्दा महत्वपूर्ण पाटो खुसी र सन्तोष रहेको उल्लेख गर्दै भने,
“खुसी महसुस गर्न सक्ने व्यक्ति नै वास्तवमै समृद्ध हुन्छ। त्यसैले हामी सबैले खुसी र शान्तिको चेतनालाई जीवनमा उतार्नुपर्छ।”
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि र जीवन विज्ञानका अभ्यासकर्ताहरू समेत उपस्थित थिए।