
नेपाल प्रहरीले मानव अंग बेचबिखनमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ भारत लगेर उनीहरूको मिर्गौलाको अवैध बिक्री गरेको आरोपमा दुई व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१६ का मोतिलाल तामाङ (३४ वर्ष) र सुनसरी इटहरी नगरपालिकाका नारायण वन (४७ वर्ष) रहेका छन्। दुवैजना हाल काठमाडौँको बूढानीलकण्ठमा बसोबास गर्दै आएका थिए।
प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, दुवै अभियुक्तले रोजगारी र पैसाको प्रलोभन देखाई पीडितहरूलाई भारत लगेर मिर्गौला बिक्री गर्न बाध्य पारेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको प्रहरीले जनाएको छ।