Join our Channel

पञ्चकन्याका किसानहरू काँक्रो खेतीमा आकर्षित

पञ्चकन्याका किसानहरू काँक्रो खेतीमा आकर्षित

नुवाकोटको पञ्चकन्या गाउँपालिकाका किसानहरू पछिल्ला वर्षहरूमा काँक्रो खेतीतर्फ आकर्षित भएका छन्। यहाँ उत्पादन हुने काँक्रो स्थानीय बजारका साथै ढिकुरे, छहरे, खरानीटार, काठमाडौं, विदुर, बट्टार र त्रिशूलीसम्म आपूर्ति हुँदै आएको किसानहरूले बताएका छन्।

पञ्चकन्याका घलेगाउँ, नेवारपानी, चुहान डाँडा, जैसिगाउँ लगायतका बस्तीमा अहिले एक सयभन्दा बढी घरधुरीले काँक्रो खेती गरिरहेका छन्। किसानहरू हाल बारीमा पाकेका काँक्रो टिप्दै बजार पुर्‍याउने चटारोमा छन्।

स्थानीय कृषक फूलमान तामाङका अनुसार रोपेको ४५ देखि ५० दिनभित्र काँक्रो फल्न सुरु हुन्छ र तीन महिनामै फसल सकिएपछि अर्को बाली लगाउन जमिन खाली हुन्छ। यस सिजनमा मात्र एक जना किसानले एक लाख रुपैयाँसम्मको काँक्रो बिक्री गरिसकेको पासाङ लामाले बताए।

चाडपर्वको समयमा बजारका व्यापारी र सर्वसाधारणले ठूलो मात्रामा काँक्रो खरिद गर्ने भएकाले किसानहरूले सहज रूपमा आम्दानी गर्न सक्ने अवस्था बनेको छ।

**पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)**का अनुसार यातायातको सहजता र बजार पहुँचले काँक्रो खेतीलाई थप व्यावसायिक बनाएको छ। गाउँमै उत्पादन हुने काँक्रो अहिले काठमाडौंलगायतका शहरसम्म पुग्न थालेको छ।

पालिकाकी उपाध्यक्ष विमला पाठक केसीका अनुसार, किसानहरूले उत्पादन व्यवस्थापन गर्दै बजारमा बिक्री गर्ने प्रणाली विकास गरेपछि काँक्रो खेती गाउँका किसानहरूको भरपर्दो आम्दानीको स्रोत बनेको छ।

Leave a comment