
कास्की जिल्लाको मादी गाउँपालिका–१ खिलाङ र वडा नं. ६ तप्राङ क्षेत्रमा गएको पहिरोले कम्तीमा ६ वटा घरमा क्षति पुर्याएको छ। लगातारको वर्षापछि आएको पहिरोले दुई वटा घरमा सामान्य क्षति पुर्याउनुका साथै दुई वटा भैंसी पुरिएर मरेको वडा नं. १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए।
उनका अनुसार पहिरो घरमाथिबाट खसेको थियो र तत्काल उद्धार कार्य सुरू गरिएको छ।
त्यस्तै, मादी–६ स्थित भेडीखर्क र सयपत्री टोलमा समेत पहिरोले असर पुर्याएको छ। वडाध्यक्ष डिलबहादुर क्षेत्रीका अनुसार भेडीखर्कका वीरबहादुर रानाको दुई वटा र सन्तबहादुर रानाको एउटा तथा सयपत्री टोलका सूर्यबहादुर मगरको एक घरमा क्षति पुगेको हो।
“चार वटै घरहरू अब बस्न मिल्ने अवस्थामा छैनन्,” वडाध्यक्ष क्षेत्रीले बताए। “कसैको घरको जग नै बगाएको छ भने कोहीको घर माटोले पुरिएको छ।”
मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ। अहिले बिहानैदेखि स्थानीय बासिन्दा र वडा कार्यालयको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ।