
पोखरामा सञ्चालनमा रहेका नगर बसहरूलाई गरिएको प्रदूषण परीक्षणमा आधा भन्दा धेरै सवारी साधन फेल भएका छन्। यातायात व्यवस्था कार्यालय कास्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा शुक्रबार बिहान न्युरोडमा २१ वटा नगर बसको धुवाँ तथा प्रदूषण परीक्षण गरेको हो।
जसमा ११ वटा बसले परीक्षण पास गरेका छन् भने १० वटा बस प्रदूषण मापदण्डमा खरो उत्रन सकेनन्। कार्यालयका प्रमुख ढाकाप्रसाद शर्माका अनुसार फेल भएका सवारीसाधनलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि ल्याउन निर्देशन दिइएको छ।
“अब ती बसहरू चलाउन पाइँदैन। मर्मत गरेपछि पुनः परीक्षण गरेर पास भएपछि मात्र सञ्चालन गर्न पाइनेछ,” — प्रमुख शर्मा
फेल भएका बस चालकले यदि निर्देशनको उल्लङ्घन गरेर बस चलाएमा रु. २,००० देखि १०,००० सम्म जरिवाना लाग्ने चेतावनी पनि दिइएको छ।
प्रदूषणको मापदण्ड
नेपालमा डिजेल बसहरूको लागि प्रदूषणको मापदण्ड ६५ HSU (Hartridge Smoke Unit) भन्दा कम हुनु आवश्यक हुन्छ। ६५ HSU भन्दा बढी देखिएमा सवारी प्रदूषण परीक्षणमा फेल ठहरिन्छ।
परीक्षणका क्रममा धुवाँको घनत्व १०० प्रतिशत HSU लाई आधार मानेर तुलना गरिन्छ।
सामाजिक सञ्जालको आलोचना र सरकारी प्रतिक्रिया
पोखराका नगर बसहरूले अत्यधिक धुवाँ निकाल्ने विषयले सामाजिक सञ्जालमा आलोचना खेपिरहेका थिए। त्यसपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाशबहादुर केसीले तत्काल प्रदूषण परीक्षण गर्न निर्देशन दिएका थिए। मन्त्री केसी स्वयम् शुक्रबार परीक्षण स्थलमै पुगेर निरीक्षण गरेका थिए।
केही दिनअघि पनि कार्यालयले १० वटा नगर बसको प्रदूषण परीक्षण गर्दा ६ वटा फेल भएका थिए। ती सवारी मर्मत गरी पुनः परीक्षणमा पास भएका थिए।