Join our Channel

११ महिनापछि मान्डु हाइड्रोपावरले विद्युत् उत्पादन पुनः सुरु गर्‍यो

११ महिनापछि मान्डु हाइड्रोपावरले विद्युत् उत्पादन पुनः सुरु गर्‍यो

गत असोज ११ र १२ गतेको अविरल वर्षाले आएको बागमती बाढीले क्षतिग्रस्त बनेको मान्डु हाइड्रोपावरले ११ महिनापछि पुनः विद्युत् उत्पादन सुरु गरेको छ।

मान्डु हाइड्रोपावरले पुनर्निर्माण पूरा गरी पहिलो चरणमा क्षमताको ५० प्रतिशत अर्थात् ११ मेगावाट बिजुली उत्पादन गरिरहेको छ। हाइड्रोपावरको पूर्ण क्षमता २२ मेगावाट रहेको छ। वरिष्ठ प्राविधिक मनोज सिंहका अनुसार प्राविधिक समस्याका कारण अहिलेसम्म आधा मात्र उत्पादन भइरहेको छ, तर छिट्टै नै पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरिनेछ।

बागमती खोलाको बाढीपहिरोले मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित मान्डु हाइड्रोपावरको हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप र विद्युत् टावरहरूमा ठूलो क्षति पुर्‍याएको थियो। प्रमुख सञ्चालक अधिकृत सुन्दर श्रेष्ठले भने, ‘बाढीले हाइड्रोपावरलाई कल्पनासम्म नगरेको क्षति पुर्‍यायो, जसको मर्मतपछि पुनः बिजुली उत्पादन सुरु गरेका छौं।’

सिस्नेरी बजारदेखि आयोजनास्थलसम्म पुग्ने सडक पनि बाढीले क्षतविक्षत बनेको थियो।

मान्डु हाइड्रोपावर निजी र चिनियाँ कम्पनीको संयुक्त लगानीमा संचालनमा छ। सिइच्वाङ हेइच्वाङ कम्पनीको सहयोगमा चार अर्ब लगानीमा २०७२ साल जेठदेखि निर्माण सुरु गरिएको यो आयोजना २०७५ चैत १९ मा उद्घाटन भएको थियो।

उत्पादित बिजुली मान्डु हाइड्रोपावर कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताअनुसार वर्षायाममा प्रति यूनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्दै आएको छ।

आयोजनाको पावरहाउसबाट कुलेखानी प्रथम सबस्टेसन १३.५ किलोमिटर टाढा छ र विद्युत् पुर्‍याउन ४२ वटा टावर निर्माण गरिएका छन्। तीमध्ये दुई टावर बाढीले क्षतिग्रस्त भएका थिए।

Leave a comment