
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले हल अफ फेम मा समावेश गरेको छ। सोमबार लन्डनमा आयोजित विशेष कार्यक्रममा धोनीसहित सातजना महान खेलाडीहरूलाई सम्मानित गरिएको हो।
धोनीले यो उपलब्धिपछि प्रतिक्रिया दिँदै भने, “विभिन्न युगका उत्कृष्ट क्रिकेटरहरूको नामसँग मेरो नाम देखिनु गर्वको कुरा हो। आईसीसी हल अफ फेममा समावेश हुनु मेरो लागि अत्यन्तै सम्मानजनक क्षण हो।”
धोनीले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उनले ३५० एकदिवसीय, ९८ टी–२० र ९० टेस्ट खेल खेलेका छन्। उनको कप्तानीमा भारतले २००७ को टी–२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेको थियो।
आईसीसीले हल अफ फेममा समावेश गरिएका सात खेलाडीहरूमा पाँच जना पुरुष र दुई जना महिला क्रिकेटर छन्। अन्य खेलाडीहरूमा अष्ट्रेलियाका म्याथ्यू हेडन, दक्षिण अफ्रिकाका ग्राहम स्मिथ र हाशिम अमला, न्यूजिल्याण्डका ड्यानियल भेट्टोरी, पाकिस्तानकी सना मिर र इंग्ल्यान्डकी सारा टेलर छन्।
धोनी विश्व क्रिकेटमा उत्कृष्ट विकेटकिपर र सफल कप्तानका रूपमा चिनिन्छन्। खेलप्रति उनको योगदान र नेतृत्व क्षमताले उनलाई सधैं सम्झिने बनाउनेछ।