
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद दीर्घबहादुर सोडारीको प्रदेशसभा सदस्य पद निलम्बनमा परेको छ।
आज (सोमबार) प्रदेशसभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले सो जानकारी दिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पद दुरुपयोग र गैरकानुनी रूपमा सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन्।
सोडारी २०७९ सालको प्रदेशसभा निर्वाचनमा कैलालीबाट निर्वाचित भएका थिए।
सभामुख भण्डारीले आयोगबाट प्राप्त पत्रको आधारमा सोडारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। आयोगले केही दिनअघि विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका हुन्।
पूर्वमुख्यमन्त्री सोडारीमाथि राज्यको पदको दुरुपयोग गरी अवैध तरिकाले अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।