
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानलाई जनताले पटकपटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक उपलब्धि बताएका छन्।
संविधान दिवसको अवसरमा मंगलबार जारी सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरूको परिणामस्वरूप संविधानसभाबाट संविधान जारी भएको स्पष्ट पारे।
सभापति देउवाले आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूलाई उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै संविधान दिवसलाई गौरवपूर्ण दिनका रूपमा मनाउन सबैलाई आह्वान गरे।
उनले कांग्रेसको नेतृत्वमा जनप्रतिनिधिहरूद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट संविधान पारित भई घोषणा गरिएको स्मरण गर्दै, यस संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका मूल्यलाई आत्मसात् गर्दै सबै नागरिकको हक र अधिकार सुनिश्चित गरेको बताए।
संविधान जारी भएको एक दशक पूरा भएको यस दिनलाई उनले स्वतन्त्रता, समानता र बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्थाको उपलब्धिका रूपमा मनाउनुपर्ने बताए।