
लगातारको वर्षाका कारण देशभरका विभिन्न १८ राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार, देशका विभिन्न पहाडी र तराई क्षेत्रका सडक खण्डहरू बाढी र पहिरोका कारण ठप्प भएका हुन्।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, र उदयपुरको कटारी नगरपालिका–१४ दलदले स्थित सिद्धिचरण राजमार्ग पनि बन्द छन्।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, धनकुटाको पाख्रिबास नगरपालिका–५ ढिकुरे, र साँगुरीगढी गाउँपालिका–१ कोशी लोकमार्ग लगायतका ठाउँमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छन्।
त्यस्तै, इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रसहित मेची राजमार्गका विभिन्न स्थानहरूमा पनि सडक आवागमन पूर्ण रूपमा रोकिन पुगेको छ।
यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ नेपाल–चीन मितेरी पुल र स्याप्रुबेँसी क्षेत्रलगायत चार स्थानमा बाटो अवरुद्ध भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्ग, र काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला स्थित बिपी राजमार्ग पनि पूर्ण रूपमा बन्द छन्।
मकवानपुर जिल्लामा मात्रै कान्ति लोकपथका तीन स्थानहरू — बकैया–११ घट्टेखोला, भीमफेदी–८, र इन्द्रसरोवर–३ कुलेखानी दक्षिणकाली सडक — सबै अवरुद्ध भएका छन्।
त्यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थान र सुनकोशी गाउँपालिका–१ नेपालथोक क्षेत्रका सडकहरू पनि बाढीपहिरोका कारण चलायमान छैनन्।
प्रहरीका अनुसार, वर्षा रोकिएपछि मात्र सडक खुलाउने कार्य सुरु गर्न सकिने बताइएको छ।