
लगातारको वर्षाले देशका विभिन्न ठाउँमा जनजीवन अस्तव्यस्त बनाएको छ। विशेषगरी सुनसरीमा १ हजार ३ सयभन्दा बढी घर डुबानमा परेका छन् भने इलाममा बाढी–पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, रामधुनी र भोक्राहा नरसिंहलगायतका स्थानहरू बाढी र पहिरोले प्रभावित भएका छन्। दर्जनौं ठाउँमा सडक अवरुद्ध भएका छन् र सयौं स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
कोशी लोकमार्गको धरान–भेडेटार र धरान–२० विष्णुपादुका–सागुरीगढी सडकखण्डमा पहिरो झरेर सडक अवरुद्ध भएको छ। मधुवन प्रहरी चौकीको भवनमा समेत पानी पस्दा क्षति पुगेको बताइएको छ।
इनरुवा नगरपालिका–९ मा करिब १२० घर र वडा नं. १० मा ७० घर बाढीले प्रभावित छन्। जाल्पापुर क्षेत्रमा मात्र ३०० घर डुबानमा परेका छन्। बराहक्षेत्रमा १६० घर जलमग्न छन् भने भोक्राहा नरसिंह–५ मा करिब ३०० घर डुबानमा परेका छन्। उद्धारका लागि प्रहरीले डोरी, टपरा र ट्युब प्रयोग गरेर स्थानीयलाई सुरक्षित स्थानमा पु¥याएको छ।
बराहक्षेत्र–८ दोभान खोलाले स्थानीय नवराज उराव (४५) लाई बगाएको र उनको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
इटहरी–५ का सुकुम्बासी टोलमा पनि १० घर डुबानमा परेका छन्। बाढी–पहिरोका कारण भौतिक संरचना, खेतीपाती, विद्यालय र स्वास्थ्य संस्थाहरूमा ठूलो क्षति पुगेको छ।
इलाममा ३७ जनाको मृत्यु
दसैंका बीचमा सक्रिय बनेको मनसुन र पश्चिमी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ। यस क्रममा इलाममा मात्रै ३७ जनाको मृत्यु र १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
इलामका माईजोगमाई, देउमाई, इलाम नगरपालिका, माङसेवुङ, सूर्योदय र सन्दकपुर गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ। घाइते २० जनालाई उपचारका लागि पठाइएको छ।
इलामका माईजोगमाई गाउँपालिका–६ ओडारे, देउमाई–५, माङसेवुङ–१ पार्टी गाउँ र सूर्योदय–१ मानेभञ्याङ क्षेत्रका घरहरू बाढी र पहिरोले बगाएका छन्।
त्यस्तै, पुवा खोला र जोगमाई खोलामा बनेका नयाँ बेलिब्रिजहरू बाढीले बगाएको छ। देउमाई र माङसेवुङलाई जोड्ने पुल पनि बाढीले नष्ट गरेको छ।
कोशी प्रदेश प्रहरीका एसएसपी दीपक पोखरेलका अनुसार, प्रदेशभरका ५ सय ३२ जनाको उद्धार गरिएको छ भने ५ हजार ९ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, पानी घटेपछि मात्रै क्षतिको यकिन विवरण आउन सक्नेछ।