
इजरायलले गाजामा आक्रमण जारी राख्दा पछिल्लो २४ घण्टामा कम्तीमा १ सय १८ प्यालेस्टिनीको मृत्यु भएको छ। गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार सो आक्रमणमा ५८१ जना घाइते भएका छन्।
इजरायलले अमेरिका समर्थित सहायता केन्द्रहरूमा पनि आक्रमण गरेको छ, जसमा १२ जनाको ज्यान गएको र ४९ जना घाइते भएका छन्।
गत मे २७ यता मात्र सहायता केन्द्रहरूमा पुगेका ६५२ जनाको मृत्यु भएको छ भने ४,५३७ जना घाइते भएका छन्।
वेस्ट ब्यांकमा समेत तनाव बढेको छ। प्यालेस्टिनी प्रिजनर्स सोसाइटीका अनुसार इजरायली सेनाले वेस्ट ब्यांकको डेयर इस्तिया गाउँबाट ७ जना हाईस्कुल विद्यार्थी सहित ३० प्यालेस्टिनीलाई पक्राउ गरेको छ। यस वर्ष मात्रै ६७ विद्यार्थी पक्राउ परेको शिक्षा मन्त्रालयले जनाएको छ।
हमासका अनुसार गाजामा बुधबार इजरायली आक्रमणमा उनका ३ लडाकुको मृत्यु भएको छ। ती लडाकुहरू सन् २०११ मा कैदी आदानप्रदानपछि रिहा भएका थिए। इजरायली सेनाले पनि उत्तरी गाजामा ‘आतंककारी समूह’ नष्ट गरेको दाबी गरेको छ।
अल जजिराका अनुसार बिहीबार बिहानदेखि गाजामा कम्तीमा ७३ जनाको मृत्यु भएको छ। सहायता खोज्न गएका ३३ जना नागरिक पनि मारिएका छन्। खान युनिसमा टेन्टमाथिको आक्रमणमा १३ जनाको मृत्यु भएको छ, जसमा एक दम्पती र उनीहरूका चार सन्तान पनि थिए।
त्यसैगरी गाजा सिटीको एक विद्यालयमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको छ। नबुल्सीमा सहायता वितरण केन्द्रमा गराइएको आक्रमणमा ६ जनाको मृत्यु र १०० जना घाइते भएका छन्। उत्तरी गाजाको बेइत लाहियामा आक्रमण हुँदा ३ जनाको मृत्यु भएको छ।
सिविल डिफेन्सले सोमबार मात्रै गाजामा ५१ जनाको मृत्यु भएको जनाएको छ। ११ वटा सहायता केन्द्रमाथि आक्रमण भएको जनाइएको छ।
एम्नेस्टी इन्टरनेसनलले इजरायलमाथि गम्भीर आरोप लगाउँदै गाजामा भोकमरीलाई ‘युद्धको हतियार’ बनाइएको र नरसंहार गरिरहेको बताएको छ। एम्नेस्टीका प्रमुख एग्नेस कालामार्डले भने, “हाल इजरायल र इरानबीचको तनावका कारण अन्तर्राष्ट्रिय ध्यान अन्यत्र रहेको बेला इजरायलले गाजामा नरसंहार जारी राखेको छ।”
एम्नेस्टीले गाजामा बालबालिकामा कुपोषण गम्भीर बनेको र अक्टोबर २०२३ यता ६६ बालबालिकाको मृत्यु भइसकेको जनाएको छ। इजरायलमाथि गैरकानुनी नाकाबन्दी लगाएर सहायता रोक्ने आरोप समेत लगाइएको छ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२०० जना मारिएका थिए, जसमा १० नेपाली विद्यार्थीसमेत थिए। हमासले कब्जामा लिएका नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात छ। त्यसपछि इजरायलले गाजामा हमास विरुद्ध कारबाही सुरु गरेको हो।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ अक्टोबर ७ देखि हालसम्म ५७,१३० प्यालेस्टिनीको मृत्यु भएको छ भने १,३५,१७३ जना घाइते भएका छन्। गाजामा खाद्यान्न, पानी र औषधिको अभाव गहिरिँदा २० लाखभन्दा बढी मानिस मानवीय संकटमा छन्।
इजरायलले भने कारबाही तब मात्र रोकिने बताएको छ, जब हमास पूर्ण रूपमा समाप्त हुन्छ। हमास स्थायी युद्धविराम र इजरायली सेना फिर्ताको माग गर्दै आएको छ। करिब ५० इजरायली अझै हमासको कब्जामा छन्, जसमध्ये २० जना जीवित हुन सक्ने आशंका छ।