
नागढुंगा–नौबिसे सडक खण्डमा पहिलो तहको कालोपत्रको काम सकिएको छ। नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत नागढुंगा देखी मुग्लिनसम्मको ९४.६६ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ।
त्यसमध्ये १२.२६ किलोमिटर लामो नागढुंगा–नौबिसे खण्डमा पहिलो तहको कालोपत्र पुरा भइसकेको छ भने दोस्रो तहको कालोपत्र ५.५ किलोमिटर सडकमा सम्पन्न भइसकेको छ। यो सडकमा तेस्रो तहसम्म कालोपत्र गरिनेछ।
नागढुंगा–मुग्लिन सडक आयोजनाका पूर्वी खण्ड प्रमुख केशवप्रसाद ओझाका अनुसार बाँकी कालोपत्रको काम बर्खा सकिएपछि मात्र सुरु गरिनेछ। यस सडक खण्डबाट दैनिक करिब १२ हजार सवारीसाधन ओहोरदोहोर हुने गरेका छन्।
सडक स्तरोन्नति अन्तर्गत झ्याप्लेखोलामा पहिरो नियन्त्रणका लागि विशेष स्लोब स्टेबलाइजेसनको काम भइरहेको छ। यस काम सकिएपछि मात्रै बाँकी कालोपत्र सुरु गरिने जनाइएको छ।
नागढुंगा–नौबिसे खण्डको समग्र भौतिक प्रगति हालसम्म ८४ प्रतिशत पुगेको छ। १ अर्ब ३० करोड रुपैयाँ लागतमा जाङ्सु–सगुन जेभी कम्पनीले यस खण्डको ठेक्का पाएको हो। खानीखोलामा भने पैदलयात्रीका लागि अपांगमैत्री अकासे पुल बनाउने तयारी समेत भइरहेको छ।
त्यस्तै, दोस्रो खण्ड अन्तर्गत पर्ने नौबिसे–मलेखु सडक खण्डको लम्बाइ ४३.५४ किलोमिटर रहेको छ। यो खण्डको ठेक्का जेडआईसीजी–शर्मा–लामा जेभीले ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा लिएको हो। हालसम्म यस खण्डमा ४२ प्रतिशत भौतिक प्रगति भएको छ भने १३ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ।