
प्रधानमन्त्री केपी शर्मा ओली आगामी २२ गते हुम्ला जाँदै छन्। प्रधानमन्त्री ओलीले कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पुमा निर्माण सम्पन्न बेलिब्रिज उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
नेकपा एमाले कर्णाली प्रदेशका सचिव टेकराज पछाईका अनुसार, मौसम र प्रधानमन्त्रीको कार्यतालिकाका कारण पहिले स्थगित भएको कार्यक्रममा यसपटक प्रधानमन्त्री ओली आफैं सहभागी हुने पक्का भएको हो।
चुवाखोलामा निर्माण भएको यो बेलिब्रिज सञ्चालनमा आएपछि सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ। नेपाली सेनाले ३५ दिनभित्र पुल निर्माण सम्पन्न गरेको हो।
खार्पु हुँदै बग्ने चुवाखोला र कर्णाली नदीमाथि बनेको यस पुलले कर्णाली करिडोरलाई पूर्णता दिएको छ। पुल निर्माण कार्यदल प्रमुख मेजर रन्जित बुढाथोकीले तोकिएको समयमै काम सम्पन्न भएको जानकारी दिएका छन्।