Join our Channel

एसियाड खेलमा एनओसी र मन्त्रालयबीचको दोहोरी: कसले दर्ता गर्‍यो कति खेल?

एसियाड खेलमा एनओसी र मन्त्रालयबीचको दोहोरी: कसले दर्ता गर्‍यो कति खेल?

जापानको आइची/नायोगामा सन् २०२६ मा आयोजना हुने २० औं एसियाली खेलकुद (एसियाड)का लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र युवा तथा खेलकुद मन्त्रालयबीच खेल दर्ता विवादले तूल पाएको छ।

एनओसीले पत्रकार सम्मेलन गर्दै ३० खेलको नाम जापानमा समयमै दर्ता गरिएको बताएको छ भने मन्त्रालयले छुट्टै प्रेस विज्ञप्ति निकाल्दै ३१ खेल दर्ता गरिएको दाबी गरेको छ।

एनओसीका अनुसार खेलाडीहरू एसियाड जस्तो ठूला प्रतियोगिताबाट वञ्चित नहोस् भन्ने उद्देश्यले समयमै सबै राष्ट्रिय खेल संघलाई पत्राचार गरिएको थियो। महासचिव राजीव श्रेष्ठले ओलम्पिक चार्टर र राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार ३० खेल संघले पत्र पठाएको जानकारी दिए।

एनओसीले दर्ता गराएका खेलहरूमा एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, जुडो, कबड्डी, पौडी, भलिबल, कुस्ती, कराते, इ–स्पोर्ट्स, स्क्वास लगायत छन्।

तर, मन्त्रालयको विज्ञप्तिमा भने आयोजकबाट कुनै आधिकारिक पत्र नआएको दाबी गर्दै प्रतियोगितामा सहभागी हुन चाहने ३१ खेलको सूची दर्ता गरिएको उल्लेख छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य कमल भट्टराईले मन्त्रालयको पहलमा जापान आयोजकलाई इमेलमार्फत खेल दर्ता गरिएको र जवाफसमेत आएको दाबी गरे।

दुवै निकायबाट दर्ता गरिएका खेलमध्ये २२ खेल एउटै छन्। मन्त्रालयको सूचीमा मात्र रहेका खेलहरूमा तेक्वान्दो, फुटबल, ट्रायथलन, सुटिङ, घोडचढीजस्ता छन् भने एनओसीको सूचीमा मात्रै रहेका खेलहरूमा आर्चरी, स्केटबोर्ड, र्‍याफ्टिङ, पेन्टाथलन लगायत पर्छन्।

यसबीच, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जारी गरेको विज्ञप्तिमा राखेप र एनओसीबीचको विवादका कारण फेरि पनि खेलाडी मारमा पर्ने सम्भावना देखिएको उल्लेख छ। अध्यक्ष दीपक श्रेष्ठले यस्ता विवादले नेतृत्वको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्ने बताएका छन्।

Leave a comment